पुनर्निर्माण अपडेट

दोस्रो किस्ता लिने अबधि चैत्र मसान्तसम्म

प्रकाशित मिति: २०७४-१०-२६

माघ २६, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा आगामी चैत्र मसान्तसम्म पु¥याउनेनिर्णय गरेको छ । 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बिहान बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणका लागि २०७४ पौष मसान्तसम्म दोस्रो किस्ता लिइसक्ने समयावधिलाई बढाएर चैत्र मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । 
बैठकलाई सम्बोधन गर्दै निर्देशक समितिका अध्यक्ष समेत रहनु भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न चुनौतीका बाबजुद पुनर्निर्माणको काम सन्तोषजनक रुपमा अघि बढिरहेको उल्लेख गर्नु हुँदै प्राधिकरणलाई धन्यवाद दिनुभयो । 
निर्देशक समिति सदस्य एवं माननीय अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्प पीडितका लागि पछिल्लो समय थप गरिएको एक लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको उल्लेख गर्दै बिश्व बैंकले ४० अर्ब रुपैयाँ दिने सहमति भएको जानकारी गराउनुभयो । 
समितिका उपाध्यक्ष भीम रावलले भूकम्पपछिको पुनर्निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्ने कार्यले भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएकोरावलको धारणा थियो । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनु पर्ने आवश्यकता लगायतका बिषयमा बैठकलाईजानकारी गराउनुभयो । 
प्रमुख कार्यकारी अधिकृत भूसालले प्राविधिक जनशक्ति र निर्माणकर्मीको अभावका कारण पुनर्निर्माणमा चुनौती थपिएपनि तिनको सम्बोधन गर्दै निजी आवास पुनर्निर्माण लक्ष्यकोकरिब ५० प्रतिशत प्राप्त गर्ने अवस्थामा पुग्न लागेको बताउनुभयो । 
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट ४ खर्ब बढी रकम प्रतिबद्धतता आएकाले पुनर्निर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्न सकिन्छ कि भन्ने बारे छलफल भइरहेको जानकारी गराउनुभयो । 
निर्देशक समितिका सदस्य तारानीधि भट्टराईले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जतिसक्दो छिटो काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा निर्देशक समितिका अर्का सदस्य किशोर थापा,प्राधिकरणका सचिव मधु सुदन अधिकारी, सहसचिवद्वय राजुमान मानन्धर, कृष्णप्रसाद दवाडी लगायतको उपस्थिति थियो । 
 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed