भूकम्प स्मृति पार्कको डिजाइनबारे छलफल

प्रकाशित मिति: २०७४-५-४

२०७२ सालको महाविनाशकारी भूकम्पबाट ज्यान गुुमाएका नागरिकहरुको स्मृतिमा चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रमा निर्माण गर्न लागिएको स्मृति पार्कको डिजाइनका बारेमा सरोकारवालाबीच छलफल भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा आइतबार उक्त छलफल भएको हो ।
छलफलमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद अग्निप्रसाद सापकोटा, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक तपेन्द्र बहादुर खड्का, शहरी विकास तथा भवन निर्माण विभागको उप महानिर्देशक पदम कुमार मैनाली, शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना इकाइकी उप आयोजना निर्देशक मीरा ज्ञवालीलगायतको उपस्थिति थियो ।
छलफलमा परामर्शदाता कम्पनी ए–नट अर्किटेक्चर एण्ड अर्किटेक्ट्स तथा जे÷भी आर्किटेक्ट डिजाइन एसोसियट्सले स्थलगत अध्ययनपछि गरेको डिजाइन प्रस्तुत गरेको थियो ।
छलफलका क्रममा परामर्शदाता कम्पनीले बनाएको डिजाइन भौगोलिक हिसाबले उपर्युक्त भएको तथापि त्यसलाई अझ आकर्षक र उपयोगी बनाउन सहभागीहरुले सुझाव दिनुभयो । छलफलका क्रममा स्मृति पार्कलाई केन्द्रीय स्तरको भूकमपसम्बन्धी अध्ययन अनुसन्धान गर्न सक्ने केन्द्रका रुपमा निर्माण गर्नेगरी सरोकारवाला निकायसँग छिट्टै छलफल गर्ने समझदारी बनेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग सिन्धुपाल्चोकका प्रमुख डा. युवराज पौडेलले भूकम्पसम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्न सक्ने सोच राखेर डिजाइन गर्न लगाइएको जानकारी दिनुभयो ।
८२ रोपनी क्षेत्रमा बन्ने सो स्मृति पार्क चौतारा साँंगाचोकगढी नगरपालिकाको वडा नम्बर ५ पानी टंकी एरियामा पर्छ । पार्कमा भूकम्पबाट मारिने सबै सिन्धुपाल्चोकबासीको नाम अंकित हुनेछ ।
सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको जिल्लाका हिसाबले सिन्धुपाल्चोक जिल्लामा स्मृति पार्क निर्माण गर्न लागिएको हो । सो स्मृति पार्कको सांसद अग्निप्रसाद सापकोटाले गत वर्ष शिलान्यास गर्नुभएको थियो ।  
 

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed