पुनर्निर्माण अपडेट

एकीकृत वस्ती बनाउन जुटे जरायोटारबासी

प्रकाशित मिति: २०७४-११-१०

मेलम्ची, फागुन १०

दिउँसो सिन्धुपाल्चोकको पश्चिमी भेग मेलम्ची नगरपालिका–११ मा पर्नेजरायोटार गाउँबाट देखिने जुगल हिमाल धुम्म परेको आकाशले छोपिएको छ । तलतिर देखिने इन्द्रावती नदी पनि प्रष्ट देखिएको छैन । तथापि, जरायोटारका ६४ घरपरिवारको अनुहारमा भने अनौठो उमंग छ । उनीहरु मिलेर निर्माण गर्न लागेको एकीकृत वस्तीको शिलान्यास हुँदै जो थियो । 
२०७२ सालको भूकम्पले जरायोटारका सबैजसोको घर भत्काइदियो । बस्नका लागि घर जसोतसो पुनर्निर्माण गर्नु त थियो नै । जरायोटारबासीले सल्लाह गरे, अब हामी एउटै योजनामा एकीकृत ढंगले पुनर्निर्माण गरौं । एकीकृत बस्ती निर्माण गर्नका लागि स्थानीयले एउटा समिति नै बनाए, ‘स्थानीय पुनर्निर्माण तथा पुनर्वास समिति’ ।
समितिका सचिव रामकुमार सापकोटाका अनुसार गाउँलेहरु केवल एकठाउँमा केन्द्रित भएका घरहरु मात्र बनाउने पक्षमा थिएनन् । उनीहरु नेपाली मौलिकता भएको, वातावरणमैत्री र आयआर्जनमा सहयोगी हुने घर बनाउने चाहन्थे । उनीहरु अब बन्ने घरलाई जीविकोपार्जनसँग जोड्न चाहन्थे । उनीहरु आफ्नो गाउँलाई स्वदेशी र विदेशी पर्यटक आउन योग्य बनाउन चाहन्थे । 
उनीहरुको चाहनलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नीतिले पनि सहयोग ग¥यो । प्राधिकरणले एकीकृत बस्ती विकास, एकीकृत आवास निर्माण, पुनस्र्थापना तथा स्थान्तरणका लागि आवश्यक मापदण्ड बनाई उपयुक्त स्थानको पहिचान गरी आयोजना कार्यान्वयन गराउँछ । १० वा बढी घरपरिवार मिलेर एकीकृत वस्ती निर्माण गर्न चाहेमा प्राधिकरणले खासगरी पूर्वाधार निर्माणमा सहयोग गर्ने नीति लिएको छ ।
जरायोटारबासीको एकीकृत वस्ती निर्माणको इच्छालाई आइसेट नेपालले विस्तृत डिजाइन बनाउन सहयोग ग¥यो । पुल्चोक क्याम्पसका दुईजना प्राध्यापक तथा २५ जना विद्यार्थीले गाउँमै पुगेर बस्ती विकासको संभाव्यता अध्ययन गर्न सहयोग गरे । 
जरायोटारबासीकोएकीकृत वस्ती निर्माणको प्रयासलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत युवराजभूसालले मुक्तकण्ठले प्रसंसा गर्नु भयो र यसमा प्राधिकरणका तर्फबाट यथासंभव मद्दत गर्ने आश्वासन पनि दिनु भयो । शिलान्यास गर्न निम्त्याएकोमा जरायोटारबासीलाई धन्यवाद दिंदै प्रमुख कार्यकारी अधिकृत भूसाललेबस्तीको पूर्वाधार निर्माणमा सहयोग गर्ने र नेपाली मौलिकता झल्कने घर निर्माण गरे प्राधिकरणको नीतिअनुसार थप ५० हजार थप्न पहल गर्ने पनि बताउनु भयो ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाटप्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद शेरबहादुर तामाङले बस्तीलाई जीविकोपार्जनसँग जोड्ने योजनालाई प्रोत्साहन दिंदै पूर्वाधार निर्माणमा आफ्नो तर्फबाट पर्याप्त पहल हुने आश्वासन दिनु भयो । उहाँलेहोमस्टेका अतिरिक्त जमिनको उपयोग गरी तरकारी तथा फलफूल उत्पादनको संभावना खोज्न सुझाव पनि दिनु भयो ।
जरायोटारबासीलेघरको पुनर्निर्माण सम्पन्न भएपछि होमस्टे संचालन गर्ने योजना बनाएका छन् । अर्गानिक खेती गरेर तरकारी फलाउने उनीहरुको चाहना छ । प्रविधिमैत्री गाईगोठ निर्माण गरी दुध निर्यात गर्ने योजना पनि छ । 
एकीकृत बस्ती निर्माण गर्न प्रत्येक परिवारले २ लाखका दरले एउटा सामूहिक कोषमा रकम जम्मा गरिसकेका छन् । सरकारको तर्फबाट प्राप्त हुने ३ लाख त्यही कोषमा जानेछ । एउटा घरको लागत १३ देखि १८ लाखसम्म हुने जरायोटारबासीको अनुमान छ । उनीहरुले निर्माण हुने स्थानबाट अस्थायी टहरा सारी जग्गा प्लटिङ गरिसकेका छन् । शिलान्यास लगत्तै काम सुरु हुने समितिका अध्यक्ष टिकादत्त धितालले जानकारी दिनु भयो । 
जरायोटारको यो एकीकृत बस्तीमा चारवटा व्लक हुनेछन् । क व्लकमा चालिसे, भण्डारी र भुजेलहरुका १७ घर बन्नेछन् भने ख ब्लकमा तल्लो धिताल टोलका धितालहरुको र सापकोटाहरुको गरी १७ नै घर बन्नेछन् । त्यस्तै, ग ब्लकमा सबै २० घर हुनेछन् माथ्लो धिताल टोलका धितालहरुको । सबैभन्दा सानो घ ब्लकमा १० घर हुनेछन् पाण्डेहरुको । कूल ६४ निजी घरका अतिरिक्त एउटा साझा घर बन्नेछ जुन गाउँलेहरुका विभिन्न सामाजिक कार्यका लागि उपयोग हुनेछ । 
जरायोटारबासीको एकीकृत वस्तीले केवल भौतिक संरचना मात्र होइन सामाजिक पुनर्निर्माणलाई पनि प्रोत्साहन गरिरहेको छ । युवालाई विदेश जान रोकी गाउँमै रोजगारी दिने विकल्प खोज्न प्रयास गरेको छ । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed