पुनर्निर्माण अपडेट

खानेपानी योजना उद्घाटन

प्रकाशित मिति: २०७६-११-१२

काठमाडौं, फागुन १०
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाल्पाको रिब्दीकोट गाउँपालिका डबका–सोमहरमा निर्माण भएको भालुवन लिफ्टिङ खानेपानी योजनाको उद्घाटन गर्नुभएको छ ।

संघीय सरकार तथा रिब्दीकोट गाउँपालिकाको अनुदान सहयोग तथा स्थानीयको जनश्रमदानसहित १ करोड १२ लाख ५६ हजार रुपैयाँमा खानेपानी योजना सम्पन्न भएको हो । योजनालाई संघीय सरकारबाट ८४ लाख ९६ हजार, गाउँपालिकाबाट १३ लाख ७२ हजार रुपैयाँ प्राप्त भएको थियो । स्थानीयले १३ लाख ८८ हजार बराबर श्रमदान गरेका थिए ।

योजनाको उद्घाटन गरेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले खानेपानीको चरम अभाव रहेको स्थानमा केन्द्रदेखि स्थानीय तह र समुदाय लगायतको सकृयतामा खानेपानी योजना सम्भव भएर उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले मर्मत तथा भइपरि आउने समस्याको समाधानका लागि पूर्वतयारी गरिराख्न स्थानीयबासीलाई सुझाव पनि दिनु भयो ।

एक वर्षअघि प्रमुख कार्यकारी अधिकृत ज्ञवाली सोमहर पुग्दा स्थानीयहरुले भूकम्पका कारण पानीको मुहान सुकेको भन्दै खानेपानीको व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरेका थिए ।   

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिका नेतृत्वले खानेपानीजस्ता आधारभूत समस्याहरु समाधान गर्न विशेष ध्यान दिएको उल्लेख गर्दै खानेपानीको भरपूर उपयोग गरी आर्यआर्जन वृद्धितर्फ लाग्न सल्लाह दिनु भयो । उहाँले एक घर एक घाराको कार्यक्रमलाई गाउँपालिकाले अभियानका रुपमा अघि बढाएको बताउनुभयो । 

रिब्दीकोट गाउँपालिकाका वडा न ८ का वडाध्यक्ष नारायण लामटाङ्गेले परियोजना सफल पार्न सहयोग गरेकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, गाउँपालिका अध्यक्ष, स्थानीय समुदाय लगायतलाई धन्यवाद दिनुभयो । 

भालुवन लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर थामीले पानी पाउँदा स्थानीयबासी खुशी भएको भन्दै पानीको समुपयोग गर्न विशेष ध्यान दिने बताउनुभयो ।  

खानेपानी योजना सम्पन्न भएपछि डबका र सोमहरका ७५ घरपरिवार लाभान्वित भएका छन् । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप