पुनर्निर्माण अपडेट

प्राधिकरणको प्रदेशस्तरीय अन्तरक्रिया

प्रकाशित मिति: २०७५-१-१६

हेटौँडा,बैशाख १६
राष्टिय पुनर्निर्माण प्राधिकरणले मकवानपुरको हेटौडामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार आयोजित पुनर्निर्माणसम्बन्धी अन्तरक्रियामा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख लगायतको उपस्थिति थियो । 
प्राधिकरणले प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्लामा हालसम्म भएको पुनर्निर्माणको अवस्थावारे जानकारी गराउँदै पुनर्निर्माणलाई अझै तीव्रता दिन प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल गर्न अन्तरक्रिया आयोजना गरेकोहो । 
अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माणको कामलाई अझै तिव्रता दिन प्राधिकरण र प्रदेश सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्प पीडितको व्यवस्थाको जिम्मा प्रदेश सरकारलाई दिए स्थानीय तहलाई परिचालन गरेर तीव्र रुपमा प्रगति हासिल गर्न सकिन्छ ।”
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने योजना अनुसार नै प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरिएको भन्दै स्थानीय तहलाई जिम्मेवार बनाएर पुनर्निर्माणलाई अझै तिव्रता दिइने बताउनुभयो । 
पुनर्निर्माणका सन्दर्भमा कतिपय ऐन, कानुन र कार्यविधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लगिएको भन्दै उहाँले स्थानीय तहलाई परिचालन गरेर नै पुनर्निर्माणलाई सफल बनाइने उल्लेख गर्नुभयो । 
प्रमुखकार्यकारी अधिकृत भूसालले बैंक तथा वित्तिय संस्थाहरुले अनुदान र ऋण प्रवाह गर्ने बिषयमा भनेअनुसार काम नगरेका कारण समस्या आएको भन्दै यसलाई सुधार गर्न राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेको जानकारी समेत दिनु भयो । 
प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले वित्तीय संस्थाले स्थानीय तहमा गएर सेवा नदिएको तथा ऋण र अनुदान वितरणमा बैंकहरुले भूकम्पपीडितलाई अनावश्यक दुःख दिएको बताउनुभयो । 
अन्तरक्रियामा सहभागी प्रदेशसभा सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुखहरुले पुनर्निर्माणसम्बन्धी विभिन्न कार्यविधिलाई सहज बनाउन, निब्र्याजी तथा सहुलियत ऋण तत्काल उपलव्ध गराउने व्यवस्था मिलाउन, गुनासोको तत्काल सुनुवाई गर्न तथा स्थानीय एवं प्रदेश सरकारलाई पुनर्निर्माण कामको जिम्मेवारी दिने व्यवस्था गर्न सुझाव दिएका थिए । 
अन्तरक्रियामा प्राधिकरणका उपसचिवद्वय डा.भीष्मकुमार भूसाल र मनोहर घिमिरेले पुनर्निर्माणमा प्राधिकरणले हालसम्म प्राप्त गरेको प्रगतिका सााथै प्रदेश नम्वर ३ को पुनर्निर्माण अवस्थाबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप