पुनर्निर्माण अपडेट

कास्की र स्याङ्जाका इञ्जिनियरलाई प्रबलीकरण तालिम

प्रकाशित मिति: २०७५-१-२३

पोखरा, बैशाख २२
भूकम्पले आंशिक क्षति पुगेका ग्रामीण क्षेत्रका घरहरुको प्रबलीकरण गर्न सक्षम बनाउने उद्देश्यले भूकम्प प्रभावित जिल्लाहरु कास्की र स्याङ्जामा खटिएका इञ्जिनियरहरुलाई चार दिने प्रबलीकरण तालिम कार्यक्रमको आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले उद्घाटन गर्नु भयो । 
तालिमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत भूसालले आंशिक क्षति भएका घरहरुको प्रबलीकरणबाट भूकम्प प्रभावित हजारौं लाभग्राही लाभान्वित हुने मात्र होइन पुराना मौलिक घरहरु पनि जोगिने बताउनु भयो ।
उहाँले ग्रामीण क्षेत्रका ढुंगा माटोका घरहरु प्रबलीकरण गर्न सकिन्छ भनी भूकम्प प्रभावितलाई विश्वास दिलाउने सके अन्य भूकम्प प्रभावित लाभग्राही पनि यसतर्फ आकर्षित हुने धारणा राख्दै इञ्जिनियरहरुलाई भूकम्प प्रभावित नागरिकको पीडा महसुस गरी काम गर्न आग्रह पनि गर्नु भयो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक तपेन्द्र बहादुर खड्काले ग्रामीण क्षेत्रका खासगरी ढुंगा माटोले बनेका कुन घर प्रबलीकरण गर्न योग्य छन् कुन छैनन् भनेर पहिचान गर्ने र प्रबलीकरण गर्नुपर्ने भए तिनको आधारभूत प्रबलीकरण सीप दिने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो । 
चार दिनेसम्म चल्ने भूकम्पीय प्रबलीकरण तालिममा यी दुई जिल्लामा प्राधिकरणबाट खटिएका ३० जना इञ्जिनियरको सहभागिता छ ।  
यो तालिमपछि इञ्जिनियरहरु प्राधिकरणबाट प्राविधिकहरु गाउँगाउँ जानुअघि बनेका घरहरुलाई सुधार गरी अनुदान प्राप्त गर्न सक्ने बनाउन सक्षम हुने अपेक्षा गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युकेएड, युएनओपिएस, बिल्ड चेञ्जद्वारा संयुक्त रुपमा आयोजित तालिम बैशाख २५ गते समापन हुने छ । 
हालसम्म मापदण्डअनुसार प्रबलीकरण गरी भूकम्प प्रतिरोधी बनाउन सकिने वर्गमा स्याङ्जाका ५६७ र कास्कीमा २४२ घर परेका छन् । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप