भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माण शुरु
प्रकाशित मिति: २०७५-२-२
काठमाडौं, जेष्ठ २
विनाशकारी भूकम्पले क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम सुरू भएको छ।
धार्मिक परम्पराअनुसार क्षमापूजा गरी सोमबार पुनर्निर्माण शुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाको निगरानी र सहयोगमा स्थानीयवासीले नै काष्ठमण्डपको पुनर्निर्माण गर्नेछन्।
बढीमा तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको काष्ठमण्डप पुनर्निर्माणका लागि करिब १९ करोड रुपैँया लाग्ने अनुमान गरिएको छ। काष्ठमण्डपको पुनर्निर्माण पुरानै शैलीमा हुने पुरातत्व विभागले जनाएको छ ।
पुनर्निर्माण प्रारम्भ समारोहमा संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्री रबीन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल, काठमाडौँ महानगरपालिकाका मेयर बिद्याशुन्दर शाक्य लगायतको सहभागिता थियो।