४ लाख बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण
प्रकाशित मिति: २०७५-२-२
काठमाडौं, जेठ २
भूकम्प प्रभावित जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख नाघेको छ ।
स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धता र निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण गरिएका कारणले पनि घर बनाउन शुरु गर्ने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो ।
मंगलबार अपरान्हसम्मको तथ्याङ्क अनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये ४ लाख २ हजार ७ सय ३ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको छ ।
निजी आवास पुनर्निर्माणले गति लिएसँगै १ लाख ५२ हजार १ सय ३० घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ४ लाख ५३ हजार ६ सय ८३ घरको पुनर्निर्माण भइरहेको छ ।
भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ भने सबैभन्दा धेरै घर सिन्धुपाल्चोकमा निर्माण भइरहेका छन् । दोलखामा अहिलेसम्म २८ हजार ८ सय ७ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ४८ हजार २ सय ७१ घर पुनर्निर्माण भइरहेका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकमा ६९ हजार ४ सय १५ घरको पुनर्निर्माण भइरहेको छ भने २० हजार ९ सय ७१ घर निर्माण भइसकेका छन् ।
कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राही सूचीमा रहेकोमा ७ लाख २ हजार ३ सय ९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् ।
यसैगरी, तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या १ लाख ४८ हजार ४ सय ८४ पुगेको छ भने तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या १ लाख ४० हजार ५ सय ६० पुगेको छ ।