पुनर्निर्माण अपडेट

पुनर्निर्माण सम्पन्न दुई विद्यालय हस्तान्तरण

प्रकाशित मिति: २०७६-१०-१९

काठमाडौं, माघ १९
धादिङ र मकवानपुरमा पुनर्निर्माण सम्पन्न भएका दुई विद्यालयको उद्घाटन गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–३, मैदीमा पुनर्निर्माण भएको शमीभञ्याङ माध्यमिक विद्यालय र मकवानपुरको हेटौंडा–१२, पान्तलेमा पुनर्निर्माण भएको श्री बुद्ध माध्यमिक विद्यालयका भवनहरुको उद्घाटन गरिएका हुन् ।
मकवानपुरको हेटौंडा न.पा.–१२, पान्तलेमा पुनर्निर्मित श्री बुद्ध माध्यमिक विद्यालय भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।


 

उद्घाटनपछिको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पुनर्निर्माणका क्रममा एकसेएक भव्य विद्यालयहरु पुनर्निर्माण भएको उल्लेख गर्दै आफैंले मात्र बागमती प्रदेशका ५० भन्दा बढी विद्यालय उद्घाटन गरी हस्तान्तरण गरिसकेको बताउनुभयो । उहाँले विद्यालयलाई आत्मनिर्भर बनाउन स्थानीय तह, व्यवस्थापन समिति, अभिभावक एवं शिक्षकहरुले सिर्जनात्मक कार्यक्रमहरु ल्याउन सुझाव पनि दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राज्यले बालबालिकाको सुरक्षित भवनमा बसेर पढ्न पाउने अधिकारका लागि ऋण नै लिएर विद्यालय पुनर्निर्माण गरेकोले गुणस्तरीय शिक्षाका लागि मेहनत गर्ने पालो आएको बताउनुभयो ।


 

त्यसैगरी, धादिङको मैदीमा पुनर्निर्माण भएको शमीभञ्याङ माध्यमिक विद्यालयको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली र जाइकाकी नेपाल प्रतिनिधि युमिको आशाकुमाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।
विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुननिर्मित विद्यालयको सार्थकता यी विद्यालयबाट राम्रा जनशक्ति उत्पादन भएपछि हुने बताउनुभयो । उहाँले विद्यालय स्थानीय तह तथा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएकोले अब यसको संरक्षण तथा गुणस्तर शिक्षाको दायित्व आएको उल्लेख गर्नुभयो ।

जाइकाकी नेपाल प्रतिनिधि युमिको आशाकुमाले धादिङमा शमीभञ्याङसहित ५० वटा विद्यालय पुनर्निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले पुनर्निर्माणका क्रममा जाइका नेपालले विद्यालय र शिक्षाक्षेत्रलाई जोड दिएको पनि बताउनुभयो ।
दुवै विद्यालय जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अन्तर्राष्ट्रिय ‘अफिसियल डेभलप्मेन्ट असिन्टेन्स–ओडिए’ ऋण सहयोगमा पुनर्निर्माण भएका हुन् ।  विद्यालयमा पर्याप्त कक्षाकोठा, प्रशासनिक भवन, शौचालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला, खानेपानी, खेलकुद मैदानको व्यवस्था छ । विद्यालय परिसरको पक्की घेराबारा गरिएको छ ।
पछिल्लो तथ्यांकअनुसार भूकम्प प्रभावित जिल्लाहरुमा ५ हजार ३ सय ८४ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ५ सय ७७ को पुनर्निर्माण जारी छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप