पुनर्निर्माण अपडेट

’प्रवलीकरणका अनुभव भविष्यलाई उपयोगी’

प्रकाशित मिति: २०७७-११-९

काठमाडौं, फागुन ९
भूकम्पपछिको पुनर्निर्माणका क्रममा प्राप्त भएको अनुभव भविष्यमा नेपालभरिका निजी आवासलाई सुरक्षित बनाउन उपयोगी हुने धारणा सरकारी अधिकारीहरु एवं विज्ञहरुले राख्नुभएको छ ।
निजी आवास प्रवलीकरणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेका अभ्यासका क्रममा प्राप्त अनुभव र आगामी बाटोबारे छलफल गर्न आयोजित कार्यशालामा उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा प्रवलीकरण सम्पन्न भएका घरको संख्या कम भए पनि यससम्बन्धी भएका अध्ययन तथा अनुसन्धानप्राप्त ज्ञान भविष्यका लागि प्रयोग गर्न उपर्युक्त तथा अनुशरण गर्न योग्य भएको धारणा राख्नुभयो ।  


‘प्रवलीकरण अभियानले हाम्रा पुराना शैलीका घर बचाउनमात्र मद्दत मिल्ने छैन भविष्यमा हुनेसक्ने विपद्बाट धनजनको क्षति रोक्न महत्वपूर्ण कदम हुनेछ । यसले अन्ततः ‘रिजिलियन्ट’ नेपाल बनाउने हाम्रो प्रयासमा ठूलो योगदान पुग्नेछ ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जोमिखयुक्त आवासहरुको पहिचान गरी तिनको प्रवलीकरण गर्न सकिएमा विपद् जोखिम न्यूनीकरणमा उल्लेख्य योगदान पुग्ने धारणा राख्नुभयो ।


शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सुरक्षित नागरिक आवास परियोजनामा प्रवलीकरणका अवयवहरुलाई पनि समावेश गर्दै लगिने बताउनुभयो ।
शहरी विकास मन्त्रालयका पूर्व सचिव दीपेन्द्रनाथ शर्माले प्रवलीकरण निजी आवासलगायत सार्वजनिक संरचनाहरुको नियमित मर्मतसंभारका साथै प्रवलीकरणलाई समेट्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्मा, एचआरआरपीका दीपक साउद र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) कै विपिन कुमार गौतमले प्रस्तुत गर्नुभएका कार्यपत्रहरुमा प्राधिकरणको कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली, प्रा.डा. प्रेमनाथ मास्के, डा. गोकर्ण मोत्रा, टिम हार्ट, जितेन्द्र बोथरा, अमन्दा डफले टिप्पणी गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत सत्रको एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले सहजीकरण गर्नुभएको थियो ।


प्राधिकरणको कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा अपेक्षित परिणामबारे संक्षिप्त विवरण राख्नुभएको थियो । त्यसैगरी, अर्का कार्यकारी समिति सदस्य डा. विष्णुबहादुर भण्डारीले प्रवलीकरण आर्थिक रुपमा संभव, सांस्कृतिक रुपमा स्वीकार्य र वातावरणीय रुपमा अनुकूल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहको अध्यक्षतामा भएको हो । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप