पुनर्निर्माण अपडेट

नुवाकोटको दलित बस्तीमा नमूना पर्वतीय गाउँ

प्रकाशित मिति: २०७५-९-१६

ढुङ्गेन्टार (नुवाकोट)

नुवाकोट विदुर नगरपालिका ढुङ्गेन्टारका हिरालाल विक यतिबेला दङग छन् । नहुन पनि किन ? भूकम्पबाट क्षति भएको घरमा नयाँ घर पाएका छन् । बारी तरकारी खेतीले ढाकेको छ । पोखरीमा माछा छन् । धुममा लोकल कुखुरा छन् । पानीको धारा घरमा छ । पानी छान्ने फिल्टर छ । 

समुदायका लागि नयाँ सामुदायिक भवन बनेको छ, जहाँ भूकम्पले क्षति भएको ढुङ्गेन्टार र पुनर्निर्माणपछिको ढुङ्गेनटारको तस्वीर राखिएका छन् । सभाहल छ । क्लिनिक छ । सामाजिक परिचालक छन्, समाजमा केही परे सहयोग गर्छन । वरपर नयाँ घर छन् । स्थानीय समुदाय हिड्ने बाटोमा कालोपत्र गरिएको छ । खोल्सामाथि पुल बनाइएको छ । सोलर बत्तीले रातीमा बस्ती नै उज्यालो हुन्छ । 

हिरालाल जस्तै यस बस्तीका स्थानीयहरुको मुहारमा खुशी छाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र इसिमोडको नेतृत्व र विभिन्न साझेदार संस्थाहरुको सहयोग र समन्वयमा दलित समुदायको बाहुल्य रहेको ढुंङ्गेन्टारमा ९० वटा घरको पुनर्निर्माण सम्पन्न भएको छ, जसले गर्दा केही समय अघिसम्म साना छाप्रामा बसेका स्थानीयहरु आकर्षक घरमा बस्न पाएका छन् । काम गर्नका लागि अवसर सिर्जना भएका छन् । आम्दानीका स्रोत बढेका छन् । 

‘अब दुई हजार कुखुरा पाल्ने योजनामा छु । ऋण पाएमा कुखुरा पाल्ने हो’–हिरालालले आफ्नो योजना सुनाए । उनी जस्तै दशरथ विकको पनि कुखुरा पाल्ने योजना छ । उनले भने–‘लोकल कुखुरा पाल्ने हो, त्यसबाट आम्दानी गर्न सकिन्छ । नयाँ घर पनि भयो, अब खुशीका दिन आएका छन् ।’

वीरबहादुरको योजना भने अलि फरक छ । उनी पहिलेदेखि गर्दै आएको कामलाई नयाँ रुप दिने र आम्दानीको स्रोत बढाउने पक्षमा छन् । ‘भूकम्प प्राधिकरण र संस्थाहरुको सहयोगमा घर बनाए । आरन पनि बनेको छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग भने–मलाई करेन्टबाट चल्ने चुल्हो भए जिन्दगीमा अब केही चाहिँदैन ।’ 

स्थानीयहरुको कुरा सुनिसकेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सहुलियत कर्जाबारे जानकारी गराए । उनले भने– घर पुनर्निर्माण भएका ठाउँमा जीवीकोपार्जनका कार्यक्रमहरु आवश्यक छन् । स्थानीय समुदायको आवश्यकतालाई ध्यान दिएर सहुलियत ऋण प्रवाहलाई सहज बनाउँछौं ।’

इसिमोडका रणनीतिक निर्देशक बसन्त श्रेष्ठले पुनर्निर्माणकै क्रममा जीवीकोपार्जनका कार्यक्रमहरुलाई पनि अघि बढाएको बताए । ‘यहाँको समुदायको आर्थिक स्तर बढाउन आम्दानीका स्रोत विस्तार गरेका छौं, उनले भने–तिनीहरुलाई अझ बढाउन आवश्यक छ ।’ 

बस्तीको पुनर्निर्माण गरिएपछि पुनर्निर्माण प्राधिकरण र इसिमोडले त्यसलाई ढुङ्गेन्टार पुनर्निर्माण समाजलाई हस्तान्तरण गरेका छन् । पुनर्निर्माण गरिएको बस्तीलाई प्रतिरोधात्मक पर्वतीय गाउँ भनिएको छ, जुन नामले नै यी घरहरु भूकम्प प्रतिरोधी छन् भन्ने सन्देश दिन्छ । 

‘हाम्रो बस्ती पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद । प्राप्त जिम्मेवारीलाई हामीले पूर्ण रुपमा पूरा गर्नेछौं’–समाजका अध्यक्ष हरिबहादुर विकले भने । 

बस्ती पुनर्निर्माणका लागि प्राधिकरणले प्रति परिवार तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । प्राविधिक सहयोग, भौतिक पूर्वाधारको विस्तार, जीवीकोपार्जनका कार्यक्रम सञ्चालन लगायतमा इसिमोड लगायतका संस्थाले ९ करोड रुपैयाँ खर्च गरेका थिए । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप