पुनर्निर्माण अपडेट

प्रधानमन्त्री ओलीद्वारा सिंहदरबार र धरहराको अवलोकन

प्रकाशित मिति: २०७७-१०-३०

काठमाडौं, माघ २९
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवलीकरण सम्पन्न भएको सिंहदरबार र पुनर्निमाण भइरहेको धरहराको आज अवलोकन तथा अनुगमन गर्नुभएको छ ।  
प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएको प्रमुख प्रशासनिक निकायका रुपमा रहेको सिंहदरबारको प्रधानमन्त्री कार्यालय सर्न तम्तयार खण्डको अवलोकन गरेपछि प्रवलीकरण कार्यप्रति सन्तोष व्यक्त गर्नुभयो । उहाँले सिंहदरबारको पश्चिम भागको प्रवलीकरणका क्रममा पुरातात्विक महत्वका वस्तुहरुलाई यथास्वरुपमै कायम राख्न निर्देशनसमेत दिनुभयो ।


त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री कार्यालयलाई भूकम्प पश्चात गरिएको सबलीकरण, कार्यालय प्रयोजनका लागि व्यवस्था गरिएका वैठक कक्ष, प्रतिक्षा कक्ष लगायतका संचरचनाहरूका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै, आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्र एवं कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणालीबारे पनि अवगत गराउनुभयो ।


हाल प्रवलीकरण कार्य सम्पन्न भएको खण्ड २०३० सालमा भएको आगलागीबाट नष्ट भएपछि पुनर्निर्माण भएका खण्डहरु हुन् । मौलिक खण्ड रहेको पश्चिम भागको प्रवलीकरण कार्य भइरहेको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार कार्यालयलाई सुरक्षा र सुविधाका दृष्टिले अब्बल हुने गरी प्रवलीकरण गरिएको छ ।
सिंहदरबारको निरीक्षणपछि सम्माननीय प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गर्नु भएको थियो । निरीक्षणपछि उहाँले धरहराको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न निर्देशन पनि दिनुभयो
त्यसक्रममा सम्माननीय प्रधानमन्त्री ओलीले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिँदै आगामी कार्यका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो ।


प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०÷१० जना अट्ने क्षमताको लिप्ःट संचालन हुने तथा १८ औं तलामा घरहरासम्बन्धी डिजिटल प्रस्तुतिकरण कक्ष रहने जानकारी दिनुभयो । हाल २१ औं तलाको ढलान सकिएको र २२ औं तलासमेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेव प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने जानकारी पनि गराउनुभयो ।


त्यसका साथै ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने जानकारी गराउँदै टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिंक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भुकम्पले भत्काएको धरहरालाई यथावत स्वरुमा शिशाले छोपेर एक सजिव भूकम्प संग्रहालयका रुपमा संरक्षण गरिने जानकारी पनि दिनुभयो ।


प्राधिकरणका सहसचिव भरत अर्यालले धरहरा पुनर्निर्माणको प्राविधिक प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार धरहरा परिसरको भूमिगत पार्किङस्थलमा ४ सय वटा चारपांग्रे र ७ सय वटा दुई पांग्रे सवारी साधान अट्ने भएकोले त्यस क्षेत्रको पार्किङ समस्या धेरै हदसम्म सम्बोधन हुने अवस्था छ ।
ती दुवै अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ, मुख्य सचिव शंकरदास बैरागीलगायत विशिष्ट महानुभावहरुको उपस्थिति थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप