पुनर्निर्माण अपडेट

गुनासोबाट थप १९ हजार ४ सय ७१ घरधुरी पुनर्निर्माण लाभग्राहीको सूचीमा

प्रकाशित मिति: २०७५-३-२०

काठमाडौं, असार २० 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा बुधवार थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा बुधबार बिहान बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी भूकम्प अति प्रभावित ११ जिल्लाका ६२ वटा स्थानीय तहका थप १९ हजार ४ सय ७१ घरपरिवारलाई पुनर्निर्माण लाभग्राही र १५ हजार ७ सय ६६ घरपरिवारलाई प्रबलीकरण लाभग्राहीमा समावेश गरेको हो । 

बैठकले ११ हजार ४ सय ७५ घरपरिवारलाई गैरलाभग्राहीमा समावेश गर्ने निर्णय गरेको छ । 

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार छुट तथा पुनर्जाँच सर्वेक्षणबाट संकलित १ लाख २९ हजार ४ सय ८ मध्ये हालसम्म ९१ हजार ९ सय १८ वटा गुनासोको सुनुवाई भइसकेको छ । जसअन्तर्गत ३९ हजार ७ सय ८१ पुनर्निर्माण लाभग्राही र २७ हजार ६३ घरपरिवार प्रबलीकरण लाभग्राहीमा सुचिकृत भएका छन् । यस्तै २० हजार ६ सय ९० घरपरिवार गैरलाभग्राहीमा परेका छन् । 

प्राधिकरणले स्थानीय तहले गरेको प्रमाणीकरणलाई थप बिश्लेषण गरी निश्चित मापदण्ड पूरा गरेकालाई लाभग्राही र नगरेकालाई गैरलाभग्राहीको रुपमा सुचिकृत गर्दै आएको छ । पुनर्निर्माण लाभग्राहीमा परेका घरपरिवारले आवश्यक प्रक्रिया पूरा गरी निजी आवास पुनर्निर्माणका लागि ३ लाख र प्रबलीकरण लाभग्राहीले घर मर्मतका लागि १ लाख रुपैयाँ पाउने गरेका छन् । 

प्राधिकरणले संकलित तथ्याङ्कबाट ७ हजार घरपरिवारको नामावली थप प्रमाणीकरण गर्न स्थानीय तहमा पठाएको सहप्रवक्ता घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत मंसिरसम्म संकलन भएका थप १ लाख २२ हजार गुनासोको पनि सुनुवाई प्रक्रिया शुरु भइसकेकाले छिट्टै नतिजा सार्वजनिक गरिनेछ । 

विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकाले लाभग्राहीहरुको छनौटमा केही ढिलाई भएको प्राधिकरणले जनाएको छ । 

बुधबार लाभग्राही थपिएसँगै कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख ७ हजार ४ सय ८६ र प्रवलीकरण लाभग्राहीको संख्या ५२ हजार ५४ पुगेको छ । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप