पुनर्निर्माण अपडेट

आवास पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण सहज गर्न समझदारी

प्रकाशित मिति: २०७६-७-१०

काठमाडौं, कार्तिक ८


पहिलो किस्ता लिएका तर आर्थिक अभावका कारण घर बनाउन नसकेका भूकम्प प्रभावित लाभग्राहीलाई लक्षित गरिएको सहुलियतपूर्ण ऋण लिन सहजीकरण गर्ने उद्देश्यसहित समझदारी बनेको छ ।
सरकारी स्वामित्वको र युकेएड सक्षमः एक्सेस टु फाइनान्सबीच भएको समझदारी अनुसार धादिङराष्ट्रिय वाणिज्य बैंक र गोरखाका तीनवटा पालिकाका रहेका बैंकका शाखामार्फत् ती जिल्लाका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जा लिन सहजीकरण हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता निर्मल दाहालले समक्षदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
परियोजनाअन्तर्गत धादिङका धुनीवेँसी, नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकामा रहेको बैंकका शाखामार्फत् लाभग्राहीलाई बैंकको नियमानुसार सहुलियतपूर्ण कर्जा दिने सहकार्य हुनेछ ।
समझदारीमा हस्ताक्षरपछि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले आर्थिक अभावका कारण घर बनाउन नसकेका लाभग्राहीलाई लक्षित गरेर ल्याइएको सुविधा कार्यान्वयनमा भूमिका खेलेकोमा बैंकलाई धन्यवाद दिनुभयो ।
“आर्थिक अभावकै कारण घर बनाउनबाट कोही बञ्चित हुनु नपरोस् भन्ने उद्देश्य राखेर प्राधिकरणले यस्तो पहल गरेको हो । सरकारले गरेको घोषणालाई सफल बनाउन सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले प्रयास प्रशंसनीय छ ।”
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले विभिन्न कार्यक्रममार्फत् लक्षित वर्गलाई सहुलियत कर्जा प्रवाह गरिरहेको बताउनुभयो  ।
युकेएड सक्षमः एक्सिस टु फाइनान्सका टोली नेता दाहालले यसअघि गरिएको पाइलट परियोजनाबाट लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिन रुची गरेको देखिएकोले बैंकसँग सहकार्य गर्न लागिएको बताउनुभयो ।
गत वर्ष जारी कार्यविधिअनुसार पहिलो किस्ता लिएर पनि घर बनाउन नसकेका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि तीन लाख रुपैयाँ सहुलियत ऋण लिन सक्छन् । यसमा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा २ प्रतिशत थप गरी व्याज दर लागू गर्छन् जसको ५ प्रतिशत व्याज अनुदान सरकारले बैंकलाई उपलब्ध गराउँछ ।
सबैभन्दा कम आधार दर भएकोले पनि लाभग्राही राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिन इच्छुक देखिएका छन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप