पुनर्निर्माण अपडेट

भूकम्प सुरक्षा दिवसमा बलियो संरचनामा जोड

प्रकाशित मिति: २०७६-१०-३

भक्तपुर, माघ २
‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ को नारासहित २२औं भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
भक्तपुर दरबार क्षेत्रमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्नका लागि बलियो संरचना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पुनर्निर्माणका क्रममा निजी तथा सार्वजनिक संरचना बलियोगरी निर्माण भइरहेको उल्लेख गर्नुभयो ।
“कमजोर संरचनाका कारण मानवीयका साथसाथै भौतिक क्षति पनि हुने भएकोले पूर्वाधार बलियो बनाउनुपर्छ भनेर सरकारले राष्ट्रिय भवन संहिता परिमार्जन गरेको छ । यसलाई सबै नगरपालिका र गाउँपालिकामार्फत् कार्यान्वयनमा लगिनेछ”, गृहमन्त्री थापाले भन्नुभयो ।


 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा भूकम्प प्रतिरोधात्मक घर बनिरहेको जानकारी दिंदै अनुदान वितरणमा किस्ताको प्रावधान राखेर निजी घरहरुसमेत भूकम्प प्रतिरोधात्मक बन्ने वातावरण बनाइएको उल्लेख गर्नुभयो ।
संघीय सांसद प्रेम सुवालले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिममा ११ औं स्थानमा रहेको र कमजोर निर्माणकै कारण बढी क्षति हुने गरेको उल्लेख गर्दै बलियो पूर्वाधारमा जोड दिनु भयो ।


 

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प पीडितलाई दिने रकम वृद्धि गर्नुपर्ने बताउँदै उक्त रकम पनि एकमुष्ट दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अनिल पोखरेलले नेपालमा आइपर्ने विपद्को न्यूनीकरण तथा व्यवस्थापनको कार्य गर्न प्राधिकरण गठन गरी काम थालिएको बताउनुभयो ।
कार्यकममा एनसेटका प्रतिनिधिबाट भूकम्प आएका बेला कसरी सुरक्षित हुने प्रर्दशनी पनि गरिएको थियो । कार्यक्रमस्थलमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुले सुरक्षित पूर्वाधारसम्बन्धी प्रदर्शनी राखेका थिए ।


 

त्यसअघि लामगाल पुखु र भाज्या पुखु दुईवटा स्थानबाट जागरण  र्याली निकालिएको थियो ।  र्याली सुरु हुनुअघि ख्वप कलेजले जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटले विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्तुती देखाएका थिए । र्यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारी, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न स्कुल कलेजका विद्यार्थी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिति थियो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप