पुनर्निर्माण अपडेट

पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

प्रकाशित मिति: २०७७-४-२६

काठमाडौं, श्रावण २६
रामेछापको सुनापति गाउँपालिका–२, दिमीपोखरीमा पुनर्निर्माण भएको अग्लेश्वर माध्यमिक विद्यालयको भवनसहित सम्पूर्ण पूर्वाधारको उद्घाटन तथा हस्तान्तरण भएको छ ।
कोरोना महामारीले गर्दा भौतिक रुपमा उपस्थित हुन नसकेका कारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘भर्चुअल’ माध्यममार्फत् विद्यालयको उद्घाटन एवं हस्तान्तरण गर्नुभयो ।


करिब ७ करोड २७ लाखको लागतमा एसियाली विकास बैकको ऋण सहयोगमा संञ्चालित  Disaster Resilience of Schools Project (DRSP) अन्तर्गत विद्यालय पूर्वाधारको पुनर्निर्माण भएको हो । विद्यालय पुनर्निर्माण गर्न १८ महिना लागेको थियो ।
विद्यालयमा कक्षा कोठा, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, प्रधानाध्यापक र शिक्षकहरुको कार्य कक्ष र पुस्तकालयको साथै बालबालिकाको ईसीडी कक्षाका लागि तीन तले दुईवटा ब्लकमा २१ कोठा रहेका छन् । साथै, छात्र, छात्रा र अपाङ्गमैत्री शौचालयका व्यवस्था छ ।
त्यसैगरी, विद्यालयमा छात्रा तथा महिला शिक्षक एवं कर्मचारीका लागि महिनावारी भएका वखत प्रयोगमा आउने लुगा बदल्ने कोठा साथै प्याड ब्यवस्थापन गरी जलाउने भट्टीको समेत व्यवस्था छ । फिल्टरसहितको खानेपानीको व्यवस्था, विद्यालयको मुख्यद्वारदेखि कक्षाकोठासम्म प्रवेश गर्ने ठाउँमा सेडको निर्माण, सिमेन्टको ईंटा बिछ्याइएको हिंड्ने बाटो, ह्विल चेयर जान सक्ने र्याम्पका साथै सोलर बत्तिको समेत व्यवस्थापन गरिएको छ ।


रामेछापमा हालसम्म नेपाल सरकारको श्रोत र विद्यालय ब्यवस्थापन समितिबाट २१८ वटा विद्यालयहरुमा ७३६ वटा कक्षाकोठाहरु निर्माण भएका छन् । त्यसका लागि १ अरब २० करोड ८५ लाख खर्च भएको छ । ५३ वटा विद्यालयहरुमा १७९ वटा कक्षा कोठाहरु निर्मार्णाधीन अवस्थामा छन् ।
त्यसैगरी, DRSP अन्तर्गत पहिलो चरणमा करिब ९८ करोड ८५ लाखको लागतमा १२ वटा विद्यालयहरुको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको छ । दोस्रो चरणमा करिब १ अर्ब २५ करोडको लागतमा १७ वटा विद्यालयहरुको पुनर्निर्माण सुरु भएको छ ।
अघिल्ला बर्षहरुमा एसियाली विकास बैकको ऋण सहयोगमा संञ्चालित Earthquake Emergency Assistance Project (EEAP) अन्तर्गत रामेछाप जिल्लामा १ अर्ब ३३ करोडको लागतमा १५ वटा विद्यालयहरु पुनर्निर्माण भइसकेका छन् । त्यस्तै, अमेरीकी सहयोग नियोग युएसएडको ३० करोड २८ लाखको सहयोगमा ५ वटा विद्यालयहरु बनिसकेका छन् ।
यसका अलावा जापान सरकारको सहयोगमा Japan Fund for Poverty Reduction (JFPR) अन्तर्गत ११ करोड ५० लाखको लागतमा एउटा नमुना विद्यालय पुनर्निर्माण भइसकेको छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप