धरहरा निर्माणको टेण्डर आह्वान
प्रकाशित मिति: २०७५-२-२
काठमाडौं, जेठ २
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि टेण्डर आह्वान गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको हो ।
प्राधिकरणका सहसचिव एवं सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।
प्राधिकरणले विगत १० वर्षमा सरदर ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँ वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी धरहरा निर्माणको प्रक्रिया थालेको हो ।
यसअघि, मन्त्रीपरिषद्ले नेपाल टेलिकमलाई धरहरा बनाउने अनुमति दिए पनि टेलिकमले हात झिकेपछि प्राधिकरणले नै निर्माण गर्ने निश्चित भएको हो ।
प्राधिकरणको योजनाअनुसार असार महिनाभित्रै धरहरा निर्माण सुरु हुनेछ र छनौट भएको कम्पनीले दुई वर्षभित्र धराहरा बनाइसक्नु पर्नेछ ।
पुनर्निर्माण हुने धरहराको स्वरुप क्षतिग्रस्त धरहराको जस्तै हुन्छ । मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ । निर्माण कम्पनीले प्राधिकरणद्वारा तयार डिजाइनका आधारमा निर्माण गर्नुपर्ने छ ।
निजी आवास तथा शैक्षिक संस्थाहरुमा उल्लेख्य प्रगति भएपछि प्राधिकरणले सार्वजनिक भवन, पुरातात्विक सम्पदाहरुमा ध्यान दिन थालेको छ ।